को हुन् भारतीय गुप्तचर संस्था ‘रअ’ को प्रमुखमा नियुक्त पराग जैन ?

HTV Khabar १५ असार २०८२, आइतबार ०५:५६ मा प्रकाशित

नयाँ दिल्ली,  भारत सरकारले शुक्रवार पराग जैनलाई भारतको बाह्य गुप्तचर एजेन्सी, रिसर्च एण्ड एनालाइसिस विङ (रअ) को नयाँ प्रमुख नियुक्त गरेको छ। पञ्जाब क्याडरका १९८९ ब्याचका आईपीएस अधिकारी जैनले जुन ३० मा अवकाश लिँदै गरेका रवि सिन्हाबाट जिम्मेवारी सम्हाल्ने छन्।

जैन आफ्नो पदोन्नति हुनुभन्दा पहिले रअको प्राविधिक शाखाका रूपमा रहेको एभिएसन रिसर्च सेन्टर (एआरसी) को प्रमुखका रूपमा काम गरिसकेका छन्। यस अवधिमा उनले प्रशासन र कर्मचारी व्यवस्थापन बाहेक पाकिस्तान डेस्कको जिम्मेवारी पनि सम्हालेका थिए।

भारतीय गुप्तचरी तथा सैन्य क्षेत्रमा उनलाई शान्त र क्रूर तथा सार्वजनिक मञ्चबाट टाढा रहन रुचाउने व्यक्तिका रूपमा चिन्ने गरिन्छ। विगत एक दशकमा, जैनले जम्मू कश्मीर र पञ्जाब बाहेक श्रीलंका र क्यानडामा काम गरेको अनुभव सँगालेका छन्।

क्यानडामा रहेका शिख समुदायका क्यानडाली नागरिक हरदिप सिंह निज्जरलाई रअले गोली हानी हत्या गर्दा उनी त्यहाँ थिए वा थिएनन् यकिन हुन सकेको छैन। तर, क्यानडामा रहेका शिख समुदायमाथी हत्या गर्ने उद्देश्यले रअले विविध अपरेसन सञ्चालन गरेपछि भारत–क्यानाडाबिचको सम्बन्ध हदैसम्म चिसिएको थियो।

त्यति मात्र होइन रअले अमेरिकामा समेत हत्या योजना बनाएपछि अमेरिकाको फेडरल व्युरो अफ इन्भेस्टिगेशन (एफबीआई) ले सम्भावित हत्याकाण्डमा संलग्नहरूलाई सार्वजनिक गरिदिएको थियो।

त्यस्तै जैनले राजनीतिक रूपमा संवेदनशील मानिएको अवधिमा श्रीलङ्कामा स्टेसन प्रमुखका रूपमा काम गरेका थिए। उनले काम गरिरहेको समयमै श्रीलङ्कामा शासन परिवर्तन भएको थियो। रअका वरिष्ठ अधिकारीहरूका अनुसार जैन त्यहाँ हुनु र श्रीलङ्काको सत्ता परिवर्तन हुनुबिच केही न केही सम्बन्ध छ।

जैन श्रीलंकामै कार्यरत रहँदा रअले तलसम्म ‘सूचना स्रोत’ विकासका लागि मसिनो गरी काम गरेको रअको उच्च स्रोतले द इन्डियन एक्सप्रेसलाई बताएको छ। श्रीलङ्कामा सन् २०२२ मा व्यापक सार्वजनिक विरोध र आर्थिक पतनपछि सेप्टेम्बर २०२४ मा निर्वाचन भयो र गोताबाया राजपक्षेले जुलाई २०२२ मा राष्ट्रपतिको पद त्याग गरे। सेप्टेम्बर २१, २०२४ मा भएको दोस्रो चरणको मतदानमा, अनुरा कुमारा दिसानायके विजयी भएर राष्ट्रपति चुनिए।

यस्तै अगस्ट २०१९ मा धारा ३७० खारेज भएपछि जैनलाई छोटो समयका लागि जम्मू–कश्मीर डिप्लोय गरिएको थियो। भारत सरकारले जम्मु–कश्मीरसँग रहेको विशेष व्यवस्था धारा ३७० खारेज गरेपछि कश्मीरमा हुन सक्ने विरोधको सामना गर्नका लागि व्यापक सुरक्षा फौज परिचालन गरी अपरेसन चलाएको थियो।

भारतको इतिहासमै महत्त्वपूर्ण मानिएको त्यो समयमा जैन जम्मु–कश्मीरमै थिए। जैनलाई कश्मीर डिप्लोई गर्नु र अहिले चिफमा नियुक्त गर्नुलाई भारतीय सुरक्षा सम्यन्त्रमा निकै महत्वका साथ हेरिएको छ।

संवेदनशील भूराजनीतिक रङ्गमञ्चहरूमा उनको कार्यकालमा रअले कस्ता–कस्ता, कहाँ–कहाँ गुप्तचरी अपरेसन चलाउँछ भनी हेर्न भनी बाँकी नै छ।

रअको परम्परालाई ध्यानमा राख्दै, जैनले आफ्नो कार्यकालभरि आफूलाई जति सकिन्छ गोप्य राख्ने प्रयास गर्नेछन्। जैनको आगमनसँगै भारतीय संस्थापन पक्षले शान्ति–सुरक्षा कायम गर्न तथा छिमेकमा भारतीय संस्थापन पक्षको दबदबा कायम गर्न मद्दत पुग्ने अपेक्षा गरेको बुझिन्छ। एजेन्सी