भीमफेदी दुर्घटना : चलकसहित दुई मृतकको पहिचान खुल्यो

HTV Khabar २७ कार्तिक २०८३, बिहीबार १२:३७ मा प्रकाशित

काठमाडौं,  मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीनजिक भएको ईभी दुर्घटनामा मृत्यु भएका चालकको पहिचान खुलेको छ।

मृत्यु हुने चालक सर्लाहीको कबिलासी नगरपालिका–८ निवासी रविशंकर कुमार मण्डल रहेको खुलेको हो। त्यस्तै, दुर्घटनामा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका सुवेक यादवको पनि मृत्यु भएको  छ। दुर्घटनामा ज्यान गुमाउने अन्यको पहिचान खुल्न बाँकी छ।

राजधानीको टिकाथलीबाट छठ पर्व मनाउन ईभी रिजर्भ गरेर सर्लाहीस्थित घर फर्कँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको गाडी विहीवार बिहान दुर्घटनामा परेको थियो। बिहान करिब ५ः४५ बजे भीमफेदी–६ मा उक्त गाडी सडकबाट करिब ७०० मिटर तल खसेको थियो।

दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने घाइते हुनेको सङ्ख्या छ पुगेको छ। घाइते हुनेमा मुकेश यादव, देवेन्द्र यादव, सञ्जय यादव, सुजन यादव र सक्षम यादव रहेका छन्। एक जना घाइतेको नाम भने खुल्न बाँकी छ।  मृत्यु हुनेमा तीन महिला, पाँच पुरुष र दुई बालिका रहेका छन्। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।