काठमाडौंमा अवैध रूपमा बस्दै आएका पाँच विदेशी पक्राउ, १४ राहदानी बरामद

HTV Khabar १८ कार्तिक २०८३, मङ्गलबार १२:४२ मा प्रकाशित

काठमाडौं,  काठमाडौंका विभिन्न स्थानमा लुकिछिपी गैरकानुनी रूपमा बसोबास गर्दै आएका पाँच विदेशी नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ।

सशस्त्र प्रहरी बल, नेपालको एपीएफ इन्टेलिजेन्स ब्यूरो र नं. १८ गणको संयुक्त टोलीले सोमवार साँझ उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका पाँचै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि अध्यागमन विभागमा बुझाइएको छ।

पक्राउ पर्नेमा बंगलादेशी नागरिक मोहम्मद कुर्वान अलि, जाहिंगिर आलम, रोनित रोय चौधरी, अकम अब्ल्लाह तथा बंगलादेशी मूलका ब्राजिलियन नागरिक रफत मिहा रहेका छन्।

सशस्त्र प्रहरीका अनुसार रोनित रोय चौधरी बस्दै आएको कोठामा खानतलासी गर्दा नौ जना बंगलादेशी नागरिकका १४ थान राहदानी फेला परेका छन्। साथै ठूलो संख्यामा आर्थिक लेनदेनको विवरण उल्लेख गरिएका दुई थान डायरीसमेत बरामद गरिएको छ।

यसैगरी पक्राउ परेका जाहिंगिर आलममाथि एक बंगलादेशी नागरिकलाई अपहरण गरी बन्धक बनाएको अभियोगमा काठमाडौं जिल्ला अदालतमा मुद्दा विचाराधीन रहेको खुलेको छ। उनी २०८० चैत १३ गतेदेखि उक्त मुद्दामा अदालतमा तारिख धाउँदै आएको प्रहरीले जनाएको छ।

पक्राउ परेका पाँचै जनालाई थप अनुसन्धान र आवश्यक कानुनी प्रक्रियाका लागि अध्यागमन विभागमा बुझाइएको छ।