थाइल्यान्डका प्रधानमन्त्री स्रेत्था थाभिसिन बर्खास्त

HTV Khabar ३१ श्रावण २०८१, बिहीबार ०९:०८ मा प्रकाशित

काठमाडौं, थाइल्यान्डको संवैधानिक अदालतले प्रधानमन्त्री स्रेत्था थाभिसिनलाई पदबाट बर्खास्त गरेको छ।

प्रधानमन्त्री स्रेत्थाले नैतिक मापदण्ड पूरा नगर्ने व्यक्तिलाई मन्त्री नियुक्त गरेर संविधानको उल्लंघन गरेको ठहर गर्दै अदालतले उहाँलाई बर्खास्त गरेको हो।
थुप्रै पटक जेल सजाय भोगेका एक पूर्वकानुन व्यवसायीलाई मन्त्रिपरिषद्‍मा समावेश गरेका कारण स्रेत्थाले प्रधानमन्त्री पद गुमाउनु परेको हो।

घरजग्गा कारोबारी स्रेत्था १६ वर्षको अवधिमा संवैधानिक अदालतको निर्णयबाट अपदस्थ हुने थाइल्यान्डका चौथो प्रधानमन्त्री हुनुहुन्छ। प्रधानमन्त्री नियुक्त भएको एक वर्षभन्दा कमको अवधिमै स्रेत्था पदमुक्त हुनुभएको हो।


यही संवैधानिक अदालतले गत साता संस्थापन विरोधी लोकप्रिय विपक्षी दल-मुभ फरवार्ड पार्टीलाई भङ्ग गरेको थियो। राजाको अपमानसम्बन्धी कानुनमा सुधार गरिनु पर्ने भन्दै सो पार्टीले सुरु गरेको अभियानले संवैधानिक राजतन्त्रको अवमूल्यन गर्ने ठहर गर्दै अदालतले मुभ फरवार्ड पार्टीलाई भङ्ग गर्ने निर्णय गरेको थियो।

शुक्रवार मात्रै सो दलका सांसदहरुले एउटा नयाँ दल गठन गरेर आफ्नो अस्तित्व जोगाएका छन्।