प्रहरी प्रभाग बूढानीलकण्ठमा नवनिर्मित दुर्गा भगवतीको मन्दिर उद्घाटन

सबिन पन्त 'पृथक' २६ चैत्र २०८२, शुक्रबार ०८:११ मा प्रकाशित

काठमाडौं, बूढानीलकण्ठ नगरपालिका वडा नं. ३ स्थित प्रहरी प्रभाग बुढानीलकण्ठको परिसरभित्र नवनिर्मित दुर्गा भगवती मन्दिर र प्रहरी प्रभाग बूढानीलकण्ठ लेखिएको कलात्मक पर्खाल एक विशेष समारोहका बीच समुद्घाटन गरिएको छ।

उपत्यका प्रहरी कार्यालय रानीपोखरीका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (AIGP) ईश्वर कार्कीको प्रमुख आतिथ्यतामा बुधवार बिहान करिब ९:०० बजेबाट सुरु भएको थियो।

धार्मिक आस्था र प्रहरी-नागरिक सम्बन्ध
मन्दिरको समुद्घाटन गर्दै प्रमुख अतिथि AIGP ईश्वर कार्कीले प्रहरी परिसरभित्र रहेको मन्दिरको निर्माणले प्रहरी कर्मचारीहरूमा आध्यात्मिक ऊर्जा भर्ने र कार्यसम्पादनमा सकारात्मक प्रभाव पार्ने बताए। कार्कीले यस्ता आध्यात्मिक संरचनाले प्रहरी र स्थानीय समुदायबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा विशिष्ट अतिथिको रूपमा मन्दिर निर्माण समितिका संयोजक सरोज श्रेष्ठ, , बूढानीलकण्ठ नगरपालिकाका वडा नं. २, ३, ५, ६, ७ र १३ का वडा अध्यक्षहरूको उपस्थिति रहेको थियो। 

त्यस्तै प्रहरी वृत्त महाराजगंजका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक (DSP) नवराज पोखरेल, प्रहरी निरीक्षक (Inspector) दिपेन्द्र श्रेष्ठ, प्रहरी प्रभाग कपनका प्रमुख प्रहरी निरीक्षक (Inspector) योगराज सुवेदी, ट्राफिक प्रहरी वृत्त महाराजगंजका प्रमुख प्रहरी निरीक्षक (Inspector) कौशल न्यौपाने, प्रहरी प्रभाग बूढानीलकण्ठ प्रमुख प्रहरी निरीक्षक (Inspector) नारायण सिंह विष्टलगायतका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रहरी कार्यालय तथा मातहतका युनिटहरूमा कार्यरत प्रहरी कर्मचारीहरू र स्थानीय बासिन्दाहरू गरी करिब २०० जनाको उत्साहजनक सहभागिता रहेको थियो। मन्दिर निर्माणमा सहयोग पुर्‍याउने विभिन्न व्यक्तित्वहरूलाई धन्यवाद ज्ञापन गर्दै बिहान ११:०० बजे औपचारिक रूपमा उद्घाटन कार्यक्रम समापन भएको थियो।

परिसरमा निर्मित यो मन्दिर कलात्मक ढंगले बनाइएको छ, जसले स्थानीय संस्कृति र धार्मिक पहिचानलाई समेत झल्काएको उपस्थित सहभागीहरूले बताएका छन्।