नशामुक्त नेपालका लागि हजारौँको संख्यामा जनजागरण पदयात्रा सम्पन्न

HTV Khabar २० श्रावण २०८१, आइतबार ०६:४२ मा प्रकाशित

काठमाडौं, भगवती मानव कल्याण सङ्गठनले नेपाल राष्ट्र स्तरीय नशामुक्ति जनजागरण पदयात्रा सम्पन्न गरेको छ। नशामुक्त नेपाल–समृद्ध नेपालको मूल नारासहित संगठनले पदयात्रा गरेको हो।

पदयात्राको माध्यमबाट तीन तहका जनप्रतिनिधि एवम् सरोकारवाला निकायलाई ज्ञापन मार्फत देशलाई नशामुक्त घोषित गर्न खबदारी गर्ने संगठनले जनाएको छ।

पदयात्रामा हजारौं व्यक्तिहरु नशामुक्ति अभियानका अन्तराष्ट्रिय अभियन्ता सिद्धाश्रम–रत्न श्रद्धेय श्री अजय अवस्थीज्यू र नेपाल सरकारका जनप्रतिनिधीहरुको साथमा १० किलोमिटरको पदयात्रामा सहभागी भएका थिए।

कार्यक्रम अन्तर्गत नशामुक्त नेपालका लागि गरिएको हस्ताक्षर संकलनमा हजारौैँले हस्ताक्षर गरेर सहमति जनाएका छन। पदयात्रा काठमाडौं स्थित चावहिलबाट शुरु भएर चुचेपाटी, बौद्ध, जोरपाटी, पिपलबोट, चामुण्डा गेट, वाहुनधारा, सर्वेश्वर मन्दिर, नयाँवस्ती युवा क्लब हुँदै गुहेश्वरी क्षेत्रमा समापन भएको थियो।

नशामुक्त जीवन अपनाऔँ–जीवन आफ्नो सफल बनाऔँ, अघि बढौँ दाजुभाई–नशामुक्त बन्नलाई, सारा नेपाली के भन्छ? नशामुक्त देश ल्याउ भन्छ, भगवती मानव कल्याण संगठन–सत्य धर्मको रक्षक हो लगायतका नारासहित हजारौँको उपस्थिती रहेको थियो।

कार्यक्रमको समापन समयमा बोल्दै सिद्धाश्रम रत्न श्री अजय अवस्थीज्यूले देशको समृद्धिमा हरेक किसिमका नशाजन्य पदार्थ बाधक भएको भन्दै समृद्धिका लागि सरकारले देशलाई नशामुक्त गर्न ढिलाई गर्न नहुने बताए। संगठनले विगत १६ बर्षदेखि नशामुक्ति अभियानमा सक्रिय रुपमा कार्य गर्दै आएको स्मरण गर्दै उनले नेपालमा हालसम्म ५ हजार परिवारलाई नशामुक्त गरिसकेको दाबी गरे।

संगठले नशामुक्त नेपाल–समृद्ध नेपालको देशव्यापी अभियान अन्तर्गत अध्यात्मि अनुष्ठान, पदयात्रा, सचेतना र खबरदारीका विविध कार्यक्रमको आयोजना गर्दै आएको छ।