काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल पुलिस स्कुल शान्तिपुर चितवनको नवनिर्मित छात्रावास भवनको विहावार आयोजित एक कार्यक्रमबीच उद्घाटन गरेका छन्। साथै उनलेे उक्त नवनिर्मित भवनको निरीक्षण समेत गरे।
उक्त अवसरमा प्रहरी महानिरीक्षक कुँवरले स्कुलले स्थापनाको छोटो समयमा शैक्षिक क्षेत्रको विकास र विस्तारमा महत्वपूर्ण योगदान गरेको चर्चा गर्दै यस नवनिर्मित भवनले स्कुलको शैक्षिक गतिविधि अझ प्रभावकारी र व्यवस्थित हुने अपेक्षा लिएको बताए।
प्रहरी महानिरीक्षक कुँवरले प्रहरी स्कुलप्रतिको अभिभावकको विश्वासलाई कायमै राखी आगामी दिनहरूमा संख्यात्मक तथा गुणात्मक आकार वृद्धिमा केन्द्रित रहन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र विद्यालय परिवारलाई निर्देशन दिए।
प्रहरी कर्मचारीहरू र सर्वसाधारणहरूका सन्ततिलाई उत्कृष्ट शिक्षा प्रदान गरी सक्षम नागरिक बनाउने जिम्मेवारीमा खरो रूपमा उत्रन विद्यालय व्यवस्थापन पक्षलाई समेत महानिरीक्षकले निर्देशन दिए।
उक्त कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायव महानिरीक्षक कृष्णहरि शर्माले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा भरतपुर महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख सुवास चन्द्र आचार्य, साविक राष्ट्रिय आधारभूत विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष धर्मनाथ न्यौपाने र अभिभावकको तर्फबाट हरिशचन्द्र दाहालले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
नेपाल पुलिस स्कुल शान्तिपुर चितवनका प्राचार्य मुकुन्द कुमार गिरीले शैक्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने विद्यार्थीहरूले विभिन्न नृत्यु प्रस्तुत गरेका थिए।
प्रहरी कल्याण कोषको ऋण सहयोगमा विद्यालयको आन्तरिक स्रोतबाट कुल ७ करोड ६५ लाख ८५ हजार ७ सय रूपैयाँ ९५ पैंसाको लागतमा उक्त भवन निर्माण कार्य सम्पन्न भएको हो।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरी, प्रहरी नायव महानिरीक्षहरू, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, स्थानीय समाजसेवी, भद्रभलादमी, संचारकर्मी एवं स्थानीयवासीहरूको उपस्थिति रहेको थियो।