४० लाख ऋण तिर्न जनप्रतिनिधि नै विदेश पलायन

HTV Khabar २२ श्रावण २०८१, मङ्गलबार ०५:१७ मा प्रकाशित

काठमाडौं,  राप्ती गाउँपालिका वडा नम्बर ८ का निर्वाचित वडा अध्यक्ष चन्द्रबहादुर गुरुङ रोजगारीकालागि विदेश पलायन भएका छन्।

२०७९ सालमा एमालेबाट निर्वाचित गुरुङ आर्थिक संकट धान्न नसकेपछि रोजगारीकालागि बेलायत गएको उनकी श्रीमती संगिता गुरुङले जानकारी दिइन।

गुरुङ यहीँ साउन २० गते सिजनल भिसामा बेलायत गएका हुन्। उनी वडा अध्यक्षमा निर्वाचित हुनु अघिसम्म सोही वडा कार्यालयमा कार्यालय सहयोगी थिए।कार्यालय सहयोगी आफ्नै वडाको अध्यक्षमा निर्वाचित भएपछि उनको चर्चा देशभर चुलिएको थियो।

करिब ४० लाख ऋण भएकाले ऋण तिर्नकालागि श्रीमान् बेलायत गएको उनकी श्रीमती सङ्गीताले बताइन्। ‘करिब ४० लाख ऋण छ। वडा अध्यक्षको पदले ऋण तिर्दैन,’ सङ्गीताले भनिन् ‘ऋण तिर्न विदेश जानुभएको हो।’

वडा अध्यक्ष गुरुङका दुई छोरा र एक श्रीमती छन्। जेठा छोरा कक्षा १२ र कान्छो छोरा ८ कक्षा मा अध्ययनरत छन्। वडा अध्यक्ष गुरुङले कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी वडा सदस्य चम्फा पुनलाई दिएका छन्।