एम्बुलेन्समा लागु औषध तस्करी गर्ने मिजार प्रहरी नियन्त्रणमा

HTV Khabar २३ मंगशिर २०८१, आइतबार ०६:४५ मा प्रकाशित

काठमाडौं,  बिरामी बोक्ने एम्बुलेन्समार्फत् लागु औषध तस्करी गरेको आरोपमा प्रहरीले एम्बुलेन्ससहित एक जनालाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा धनुषाको धनुषाधाम नगरपालिका–६ हरिपुरका ४४ वर्षीय सुरेश मिजार छन्। उनलाई इलाका प्रहरी कार्यालय मंगलटारको टोलीले पक्राउ गरेको हो।

ज १ च १९०८ नम्बरको एम्बुलेन्समा लागु औषध ओसारपसार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो। २० मंसिरको राति ९ बजेतिर रोशी गाउँपालिका–९ स्थित इलाका प्रहरी कार्यालय मंगलटारको टोलीले जाँच गर्दा एम्बुलेन्समा लागु औषध भेटेको थियो।

बर्दिबासबाट काठमाडौं आउँदै गरेको उक्त एम्बुलेन्समा विभिन्न औषधीजन्य लागु औषधहरू ओसारिएको थियो। उक्त एम्बुलेन्सबाट ३ हजार एम्पुल लागु औषध बरामद गरिएको छ। पक्राउ परेका मिझारविरुद्ध लागु औषधको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ।