काठमाडौं, गौशालाको अतिक्रमित संरचनाम डोजर लगाउँदा अवरोध गर्न पुगेका सुमन सायमीलगायत तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
काठमाडौं महानगरपालिकाले गौशाला क्षेत्रको अतिक्रमित संरचनामा डोजर चलाएपछि सायमीसहितका युवाहरू आएर अवरोध गर्न खोजेपछि उनीहरूलाई नियन्त्रणमा लिएर प्रहरी वृत गौशालामा राखिएको गौशाला प्रहरी वृतका डीएसपी सुकदेव खनालले बताए।
उनले भने, ‘ महानगरको काममा अवरोध गर्न खोजेपछि तीनजनालाई हामीले नियन्त्रणमा लिएका हौ। अहिले उनीहरुलाई गौशाला प्रहरी वृत्त परिसरकै प्रतिक्षालयमा राखेका छौं।’
चक्रपथ सडक सीमा २५ मिटरभित्र बनाइएका पक्की, कच्ची संरचना हटाउन डोजर चलाइएको छ।
‘अहिले हामी डोजर सहित गौशाला क्षेत्रमा छौं, यो धर्मशाला बाहेक अन्य क्षेत्रमा सडक मिचेर बनाइएका संरचना भत्काउन आएका हौं’ अर्यालले भने, ‘अर्यालका अनुसार पक्की र कच्ची गरी १०–१२ वटा संरचना हटाउनुपर्नेछ।’
चक्रपथ सडक विभाग मातहत रहे पनि सडक सीमा अतिक्रमण भएकाले स्थानीय सरकारका रूपमा महानगरले अग्रसरता लिएर हटाउन लागेको सडक विभागले जनाएको छ।
डिभिजन सडक कार्यालय काठमाडौंका प्रमुख नारायणदत्त भण्डारीले सडक सीमा अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन सडक विभागको सहमति रहेको बताएका थिए।