जुवा खालबाट गाउँपालिका अध्यक्षसहित ९ जना पक्राउ १८ लाख बरामद

HTV Khabar ३० भाद्र २०८१, आइतबार ०९:२८ मा प्रकाशित

काठमाडौं,  मोरङमा जुवा खेलिरहेको अवस्थामा ग्रामथान गाउँपालिकाका पूर्वअध्यक्षसहित नौ जुवाडे पक्राउ परेका छन्।

शनिवार राति प्रहरीले छापा हानी मोरङको ग्रामथान गाउँपालिकाका पूर्वअध्यक्ष शिवनारायण माझीसहित उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सुन्दहरैंचा नगरपालिका–१ का ५০ वर्षीय जनककुमार माझी, सुनसरीको दुहबी नगरपालिका–६ का ४५ वर्षीय जयकिशोर साह, महोत्तरीका ४५ वर्षीय महेशकुमार माझी र ४५ वर्षीय महेश साह, ग्रामथान–४ का आर्हलाल माझी रहेका छन्।

यस्तै सुनसरीको धरान उपमहानगरपालिका–१५ का युवक राई, दमक–१० का कतुवर्न नेम्वाड, मोरङ लेटाङ नगरपालिका–९ का लोकनाथ सापकोटा र सुन्दरहैंचा–३ का प्रताप राईलाई पनि पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ।

पक्राउ पर्ने माझी २०७४ को निर्वाचनमा निर्वाचित गाउँपलिका अध्यक्ष हुन्। ग्रामथान–४ को कटहरा भन्ने ठाँउमा जुवा खेलिरहेको ठाउँमा राति प्रहरीले छापा हानेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।उनीहरूको साथबाट १८ लाख ५१ हजार रुपैयाँ ५०० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ। उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ।