ग्लोबल आइएमई बैंक, आइएमई र जाल्टानबीच त्रिपक्षीय सम्झौता

HTV Khabar २२ श्रावण २०८१, मङ्गलबार ०६:२९ मा प्रकाशित

काठमाडौं, जापान जान चाहने विद्यार्थीहरुलाई सहज शैक्षिक कर्जा प्रवाह गर्ने सम्बन्धमा ग्लोबल आइएमई बैंक लिमिटेड, आइएमई लिमिटेड र जापानिज भाषा शिक्षक संघ नेपाल (जाल्टान)बीच त्रिपक्षीय समझदारी भएको छ।

बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, आइएमई लिमिटेडका प्रमुख सम्बन्ध व्यवस्थापन सुशील थापा र जाल्टानका अध्यक्ष राजेन्द्र केसीले समझदारी पत्रमा संयुक्त रुपमा हस्ताक्षर गरेका छन्।

समझदारी अनुसार बैंकले जाल्टानबाट सिफारिस भएका विद्यार्थीहरुलाई जापानका विभिन्न विश्वविद्यालयहरुमा उच्च शिक्षाका लागि आवश्यक पर्ने शैक्षिक कर्जा प्रवाह गर्नेछ। यसैगरी, जापान गएपछि विद्यार्थीहरुले जापानबाट आइएमईबाट सजिलैसँग नेपालमा पैसा पठाउन सक्नेछन्।

ग्लोबल आइएमई बैंक देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकका ३ सय ५४ शाखा कार्यालय, ३ सय ८४ एटीएम, २ सय ७७ शाखारहित बैंकिङ सेवा, ६८ वटा एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर साथै ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १ सयभन्दा बढी सेवा केन्द्र रहेका छन्।