तनहुँ बस दुर्घटना: १० जना गोताखोरसहित ८० जना सशस्त्र प्रहरी परिचालन

HTV Khabar ७ भाद्र २०८१, शुक्रबार ०१:०२ मा प्रकाशित

काठमाडौं,  तनहुँमा शुक्रवार बिहान भारतीय नम्बर प्लेटको बस दुर्घटना भएपछि सशस्त्र प्रहरीको टोली उद्धारमा परिचालन गरिएको छ।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयबाट एसएसपी माधव पौडेलको कमान्डमा १० जना गोताखोर सहित ४५ जना र नम्बर २३ मनकामना गण भानु तनहुँबाट ३५ जनाको फौज उद्धारमा खटिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

दुर्घटना स्थल अप्ठ्यारो भीर भएका कारण घाइते र मृतक उद्धारमा डोरीको सहायताले नदी किनारमा पुग्ने प्रयास भइरहेको उनले बताए। प्रारम्भिक रूपमा १०–११ जनाको मृत्यु भएको बुझिएको भन्दै उनले पुष्टि हुन बाँकी रहेको जानकारी दिए।

प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी दीपक कुमार रायले बसमा ४० जना सवार रहेको जानकारी दिए। उनका अनुसार ११ जना बेपत्ता भएका छन्। यस्तै १४ जना जना अचेत हुनुका साथै १५ जना सामान्य घाइते भएका छन्। बस आँबुखैरेनी गाउँपालिका वडा नम्बर–२ स्थित ऐना पहराबाट मर्स्याङ्दीमा बस खसेको उनले जानकारी दिए।