नेपाली काङ्ग्रेसले गर्‍यो प्रधानमन्त्री राहत कोषमा ५० लाख सहयोग

HTV Khabar २१ कार्तिक २०८०, मङ्गलबार ०३:४० मा प्रकाशित
काठमाडौं, नेपाली काङ्ग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख सहयोग गरेको छ। काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्री द्वय विश्वप्रकाश शर्मा र गगन थापासहितको प्रतिनिधि मण्डलले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डलाई बालुवाटारमा भेटी उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो।

काङ्ग्रेसले भूकम्पपछिको उद्धार, राहत, पुनःस्थापना र पुनःनिर्माणका लागि नौ बुँदे सुझाव पेश गर्दै सरकारको ध्यानाकर्षण पनि गराएको छ। काङ्ग्रेसले भूकम्पपछि खोज र उद्धारमा प्रधानमन्त्रीको तदारुकता र तत्परताको प्रशंसा पनि गरेको छ। 

काङ्ग्रेसले राहत र पुनःनिर्माणका लागि अनुभवी कर्मचारी परिचालन, अस्थायी आवासको व्यवस्था, उद्धार र पुनःस्थापनामा एकद्वार प्रणाली अनुसरण गर्दा प्रदेश सरकार र स्थानीय सरकारलाई नै नेतृत्वदायी भूमिका दिई सङ्घीय सरकारको अनुगमन र सहजिकरणका लागि सुझाव समेत दिएको छ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले विगतका राम्रा अनुभवहरूकाे  अनुसरण गर्ने बताए। उनले खोज र उद्धारको पहिलो चरणको काम सफलतापूर्वक सम्पन्न भएको बताउँदै अब राहत र पुनःनिर्माणको दोस्रो चरणको काम द्रुतगतिमा हुने बताए। उनले भने, ‘हिजो मात्र दुवै छिमेकी राष्ट्रका राजदूतलाई छुट्टाछुट्टै बोलाएर राहतका लागि कुरा भएको छ। उनीहरूले राहतका लागि आफूहरु सुरुवात गरेको बताए। यसरी सबैतिरबाट आर्थिक र अन्य सहयोगहरु आउने क्रम जारी छ।’

प्रधानमन्त्रीले आगामी दिनमा भूकम्पलगायतका अन्य प्राकृतिक प्रकोपका लागि स्थानीय तहमा भण्डारणको व्यवस्था गर्ने, भूगोलको अध्ययन गरेर एकीकृत बस्तीको मापदण्ड तोक्ने लगायतका कामबारे छलफल भएको बताए। उनले नेपालीहरूमा  संकटको बेला एकैठाउँमा उभिने संस्कार विगतका प्राकृतिक विपतमा  झैं यसपटक पनि सबै एकजुट भएको बताए।