काठमाडौं, काठमाडौं तराइ मधेश फास्ट ट्रयाकको ठेक्कासम्बन्धी मुद्दा जिताइदिन्छु भनेर १ करोड २८ लाख रुपैयाँ लिएर ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा ललितपुरको भैसेपाटीका ४५ वर्षीय रवीन्द्र महर्जन छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुद्धनगरबाट सोमवार पक्राउ गरेको हो।
फास्ट ट्रयाकको टेन्डरमा सहभागी हुने निर्णय उपर उच्च अदालत पाटनमा विचाराधीन रहेको मुद्दा जिताइदिन्छु भन्दै उनले एक व्यक्तिसँग १ करोड २८ लाख लिएको पाइएको प्रहरीको भनाइ छ।
रकम नदिए मुद्दा हराइदिने बताएपछि ती व्यक्तिले महर्जनलाई उक्त रकम बुझाएका प्रहरीले बताएको छ। उनीविरुद्ध ठगीको कसुरमा आईतवार मात्रै पक्राउ पूर्जी जारी भएको थियो।
पक्राउ परेका महर्जनलाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजीकुमार आचार्यले बताए।