अमेरिकन डलर साट्ने भन्दै ४० लाख रुपैयाँ ठगीगर्ने तीनजना पक्राउ

HTV Khabar ७ अशोज २०८१, सोमबार ०६:०२ मा प्रकाशित

काठमाडौं,  अमेरिकन डलर देखाई नेपाली नगद साट्दा फाइदा हुन्छ भन्दै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सर्लाही घर भई भक्तपुर बस्ने ३० वर्षीय साजन भन्ने लालबहादुर घिसिङ, सिन्धुपाल्चोक घर भई भक्तपुर बस्ने २० वर्षीय सुनबहादुर तामाङ र २९ वर्षीय भीमबहादुर तामाङ रहेका छन्।

उनीहरूले चाँगुनारायण घर भएका नीरज थापालाई प्रलोभनमा पारेर ४० लाख रुपैयाँ ठगी गरी फरार भएका थिए। उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पीआरसीबी भक्तपुरको संयुक्त प्रहरी टोलीले असोज ४ गते जडीबुटीबाट पक्राउ गरेको प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिए।

उनीहरू यसअघि पनि विभिन्न ठगीका घटनामा संलग्न रहेको खुलेको छ। उनीहरूको साथबाट एउटा मोटरसाइकल र विभिन्न कम्पनीका मोबाइल ४ थान बरामद गरिएको छ। उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ।