काठमाडौं, कोशी प्रदेशका पूर्वमन्त्री लीलाबल्लभ अधिकारी पक्राउ परेका छन्। उनलाई विराटनगरस्थित निवासबाटै पक्राउ गरिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधमा उनलाई पक्राउ गरिएको स्रोतले बतायो। उनलाई आजै दिउँसो हवाईजहाज मार्फत काठमाडौं पठाउने तयारी छ। कोशी प्रदेशका डीआईजी चन्द्रकुबेर खापुङले पनि अधिकारीलाई काठमाडौं पठाउन लागिएको पुष्टि गरे।
कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिलामन्त्री अधिकारीलाई मानव तस्करीको आरोप लागेको छ। मन्त्रिपरिषदबाट भ्रमण स्वीकृत नगराई उनी जापान गएका थिए। उनीसँगै अन्य ३ जना व्यक्ति पनि जापान गएका थिए । तर जापानको अध्यागमनले उनलाई विमानस्थलबाटै फर्काइदिएको थियो।
मानव तस्करको योजना अनुसार मन्त्री जापान पुगेको भन्दै विरोध भएपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए। उनलाई शनिबार एमालेको कोशी प्रदेश कमिटीले राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य तथा पार्टीको संगठित सदस्यबाट निलम्बन गरेको थियो। शनिबारको सचिवालय बैठकले प्रदेश कमिटीको उक्त निर्णयलाई अनुमोदन गरेको थियो। उनीसँगै जापान गएकाहरुलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ।
अधिकारीले भने आफूलाई फसाइएको दाबी गरेका छन् । उनले अनुसन्धानमा सघाउने बताएका छन् ।