काठमाडौं, प्रहरीले अवैध लागूऔषध खैरो हेरोइनसहित नागढुंगाबाट दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा इटहरीका सुरेश थापा र नुवाकोटका रामकुमार थपलिया रहेका छन्।
प्रहरी वृत थानकोटको टोलीले धरानदेखि काठमाडौं आउँदै गरेको बसमा सवार सुनसरी इटहरीका थापालाई ९७.७ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो।
थप अनुसन्धानका क्रममा बालाजु माछापोखरीबाट नुवाकोटका थपलियालाई ४ ग्राम हेरोइन र ७५ हजार पाँच सय रुपैयाँसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार थापाले कालो रंगको झोला भित्र हेरोइन लुकाएर ल्याएका थिए।माछापोखरीमा थपलिया उक्त लागूऔषध रिसिभ गर्न बसेको प्रहरी अनुसन्धानबाट खुलेको छ। पक्राउ परेका दुवैमाथि थानकोट प्रहरी वृत्तले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।