काठमाडौं, करिब एक करोड बराबरको जग्गा ठगी आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।पक्राउ पर्नेमा गोरखाको शहिदलखन गाउँपालिका–१ का ४८ वर्षीय गोपाल थापा छन्।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। बबरमहलबाट पक्राउ परेका उनलाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौं पठाइएको छ।
नबिल बैंकको खातामा ९५ लाख रुपैयाँ जम्मा गरिदिएको छु भन्दै डिपोजिट स्लिप देखाएर उनले चन्द्रागिरि नगरपालिका-२ बाडभञ्ज्याङको कित्ता नम्बर २२४ र कित्ता नम्बर ४९९ को जग्गा आफ्नो नाममा पास गराएका थिए।
तर, रकम नभएको चेक मार्फत जम्मा गरिएको उक्त स्लिपबाट कुनै रकम जम्मा नभएपछि आफू पीडित भएको भन्दै जग्गा पास गरेका व्यक्ति प्रहरीकोमा पुगेका थिए। त्यसपछि उनलाई प्रहरीले पक्राउ गरेको हो।