काठमाडौं, वैदेशिक रोजगारीका लागि कोरिया पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जनालाई काठमाडौंबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका–१ घर भएका ५२ वर्षीय गिता बहादुर मगर छन्।
उनले चारजना पीडितबाट ९ लाख रुपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले बताए। पीडितहरूलाई कोरिया पठाउँछु भनेर रकम लिएपछि उनी लामो समयदेखि सम्पर्कविहीन थिए। उनलाई कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको एसपी जिसीले जानकारी दिए।