नेताहरूको मृत्युको कामना गरेर यज्ञ गर्ने पुष्कर खतिवडा धरौटीमा छुटे

HTV Khabar ३ भाद्र २०८१, सोमबार ०४:५९ मा प्रकाशित

काठमाडौं,  भीआईजीको मृत्युको कामना गरेर यज्ञ सञ्चालन गर्ने पुष्कर खतिवडा रिहा भएका छन्।

काठमाडौं जिल्ला अदालतको आदेश अनुसार आफूलाई धर्मगुरु दाबी गर्ने खतिवडा २५ हजार धरौटीमा रिहा भएका हुन्। उनी साउन १४ मा मण्डिखाटारबाट पक्राउ परेका थिए।

खतिवडाले सामाजिक सञ्जाल फेसबुक मार्फत लाइभ गरेर नेताहरूको मृत्युको कामना गर्न आयोजित यज्ञमा सहभागी हुन सार्वजनिक आह्वान गरेका थिए। २८ वर्षीय खतिवडाले फेसबुकमा ‘भीआईपीहरूको मृत्युको काम गरेर यमराजको पूजा गर्ने निर्णय गरेको छु’ भन्ने पोष्ट गरेका थिए।

खतिवडाले सामाजिक सञ्जालमा ‘आवेगमा लेखेको’ बयान दिएका छन्। आफूलाई धर्मगुरु दाबी गर्ने खतिवडाले बयानमा भनेका छन्, ‘फेसबुक स्ट्याटस आवेशमा लेखेको हुँ, साथीहरूले त्यस्तो गर्नु हुँदैन भनेपछि मलाई गलत रहेछ भन्ने अनुभूति भएको थियो।’ साथीहरूको आग्रह अनुसार होम नहालेको उनले जिकिर गरेका छन्।

उनीविरुद्ध विद्युतीय अपराध सम्बन्धी कसुरमा मुद्दा चलाएको प्रहरी वृत्त महाराजगञ्जका डीएसपी रवीन्द्रनाथ पौडेलले बताए। उनले भने, ‘उहाँ १६ दिनमा अदालतको आदेश अनुसार रिहा हुनुभएको छ।’ अदालतले मागेको २५ हजार धरौटी उनले बुझाएका छन्। उनी झापाको बुद्धशान्तिका स्थानीय हुन्।