अन्तर्राष्ट्रिय मानव बेचविखन विरुद्ध जनचेतना कार्यक्रम

HTV Khabar १६ श्रावण २०८१, बुधवार ०६:५५ मा प्रकाशित

काठमाडौं,  जिल्ला प्रहरी कार्यालय बाराले अन्तर्राष्ट्रिय मानव बेचविखन विरुद्ध दिवसको अवसरमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत एक जनचेतना कार्यक्रम सम्पन्न गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाराले कलैया उपमहानगरपालिका वडा नम्बर १ स्थित बाल मन्दिरको प्रङ्गणमा आयोजना गरेको यस कार्यक्रममा प्रहरी निरीक्षक विमला कुमारी कठायतको अध्यक्षतामा विभिन्न स्थानिय जनप्रतिनिधि, भद्रभलादमी, बुद्धिजीवी, समाजसेवी, महिलाहरु तथा स्थानिय संघ संस्थाहरुका ६० जना व्यक्तिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको मुख्य उद्देश्य मानव बेचविखन विरुद्ध जनचेतना फैलाउनु रहेको थियो। यस अवसरमा विभिन्न वक्ताहरुले मानव बेचविखनको जोखिम, यसबाट हुने हानी र यसको रोकथामको उपायहरु बारेमा जानकारी गराएका थिए।

प्रहरी निरीक्षक कठायतले मानव बेचविखन विरुद्धको अभियानमा समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताउँदै यस्ता जनचेतनामूलक कार्यक्रमहरुले समाजमा सचेतना फैलाउने विश्वास व्यक्त गरिन्।