काठमाडौं, कैलालीको धनगढीमा मालवाहक ट्रकको सामान अनलोड गर्नेक्रमा अन्दाजी ४० वर्षीय एक पुरुषको शव फेला परेको छ।आईतवार बिरगञ्जबाट धनगढी आएको सुदूरपश्चिम प्रदेश ०१००१ ख २४४२ नम्बरको ट्रकको सामान अनलोड गर्ने क्रममा ट्रकमा शव फेला परेको हो।
सामान अनलोड गर्ने क्रममा ट्रकमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। शव फेला परेपछि ट्रक चालक कञ्चनपुरको वेदकोट नगरपालिका–९ का ३८ वर्षीय लबिन्द्र राना र सहचालक २२ वर्षीय ओमप्रकाश रानालाई नियन्त्रणमा लिइएको छ।
उनीहरु विरगञ्जबाट फलामको रड र प्लाष्टिकको बोरा ट्रकमा ल्याएर धनगढी आएका थिए। उनीहरुले ट्रकमा भेटिएको शवबारे कुनै जानकारी नभएको र सामान अनलोड गर्ने क्रममा मात्र शव देखेको बयान प्रहरीलाई दिएका छन्।
पहिचान खुल्न नसकेको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ। साथै शवको हालसम्म सनाखत हुन नसकेको हुँदा पहिचान भएमा सम्बन्धित व्यक्तीले यस कार्यालय तथा नजिकको प्रहरी कार्यालयमा सम्पर्क राख्न हुन अनुरोध गरिएको छ।