चक्कु देखाएर पठाओ चालकलाई लुटपाट गर्ने २ जना पक्राउ

HTV Khabar १२ श्रावण २०८१, शनिबार ०८:५९ मा प्रकाशित

काठमाडौं,  साँखुबाट पठाओ चालकको मोटरसाइकल, मोबाइल र नगद लुटपाट गर्ने २ जना पक्राउ परेका छन्। प्रहरी प्रभाग साँखुले पठाओ चालक भक्तबहादुर खड्कालाई लुटपाट गर्ने वर्ष २३ का राहुल तामाङ र वर्ष २१ का मनिष कोइरालालाई पक्राउ गरेको हो।

उनीहरुले यही साउन ९ गते बिहान ६ बजे काठमाडौंको शंखरापुर नगरपालिका वडा नम्बर ८ नाउपाखा सामुदायिक वनमा मोरङ लेटाङ नगरपालिका वडा नम्बर ९ का खड्कालाई लुटपाट गरेका थिए।

ललितपुर पाटन अस्पताल नजिकै बस्ने भक्तबहादुर खड्काले पठाओ गरी यात्रु लिई शंखरापुर नगरपालिका नाउपाखा सामुदायिक वनमा पुगेपछि तामाङ र कोइरालाले चक्कु देखाई उक्त पठाओ चालकको बाप ०२–०४३ प ९१२५ नम्बरको मोटर साइकल, नगद रु.६०००।– र मोबाइल १ थान लुटपाट तथा चोरी गरी फरार भएका थिए।

खोजतलास पश्चात् सोही दिन निजहरूलाई नियन्त्रणमा लिई कानुन बमोजिम थप कारबाहीका लागि तालुक कार्यालयमा पठाइएको साँखु प्रहरी प्रभावका इन्चार्ज प्रहरी निरीक्षक नवीन चुदालीले जानकारी दिएका छन्।

सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर १५ घर भई हाल काठमाडौंको साँखुमा बस्ने राहुल तामाङ र उदयपुर नगरपालिका वडा नम्बर ५ घर भई हाल साँखुमा बस्दै आएका मनिष कोइराला पक्राउ परेका हुन्।