बालिका बलात्कारका दोषीलाई कारबाही माग गर्दै भालुवाङ बजार बन्द, राजमार्ग अवरुद्ध

HTV Khabar ६ कार्तिक २०८१, मङ्गलबार ०६:०१ मा प्रकाशित

काठमाडौं,  बालिका बलात्कारका आरोपी पक्राउ नगरेको भन्दै स्थानीय बासिन्दाले दाङको भालुबाङ बजार बन्द गराएका छन्।मंगलवार दिउँसो भालुबाङ पुल्चोकमा राजमार्ग अवरुद्ध गरेर विरोध प्रदर्शन गरिएको छ।

यसका साथै भालुबाङ बजार बन्द गरिएको छ। २४ असोजमा सशस्त्र प्रहरी बलको क्याम्प नजिक पिङ खेल्न पुगेकी ८ बर्षीया बालिका बलात्कार भएको सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय भालुबाङले घटनाको अनुसन्धान अघि बढाएको थियो।

पीडित बालिकालाई प्रहरीले संरक्षण गरेर राखेको छ भने ती बालिकासंगै रहेकी अर्की १५ बर्षीया बालिकालाई पनि प्रहरीले अनुसन्धानको लागि कार्यालयमा राखेको छ।दुवै बालिका संग घटनाको बारेमा जानकारी लिने र संकास्पद व्यक्तिहरुसंग सोधपुछ जारी राखिएको प्रहरीले बताएको छ।

‘घटनाको अनुसन्धान प्रहरीले गरिरहेको छ’, जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी ईश्वर थापाले भने,‘यो घटनालाई प्रहरीले गम्भीर रुपमा लिएको छ। सीआईबीको टोलीले समेत घटनाको अनुसन्धान गरिरहेको छ। ’प्रहरीले घटनाको अनुसन्धान अघि बढाए पनि अझैसम्म संलग्न व्यक्तिको पहिचान गर्न नसकेपछि जनआक्रोश बढ्दै गएको छ।

प्रहरीले घटनामा संलग्न व्यक्तिको पहिचान गरेर सार्वजनिक नगर्दासम्म संघर्ष जारी राख्ने पीडित पक्षले चेतावनी दिएका छन्। घटनाको सत्यतथ्य छानबिन गर्न पीडित पक्षले माग गरेका छन्।