जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ

HTV Khabar २ कार्तिक २०८१, शुक्रबार ०६:४५ मा प्रकाशित

काठमाडौं,  जुवातास खेलिरहेको अवस्थामा नेपाल प्रहरीले देशका विभिन्न स्थानबाट २१ जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५९ हजार ६ सय ८० रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो।

सुनसरीको धरान उपमहानगरपालिका –१ बस्ने मदन ढकालको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका–१ बस्ने ५१ वर्षीय कुमार बहादुर बिश्वकर्मा समेत १० जनालाई विहिवार साँझ प्रहरीले पक्राउ गरेको छ।

त्यस्तै, कास्कीको पोखरा महानगरपालिका–१७ ड्यामसाईड  स्थित ५३ वर्षीय योगेन्द्र शेरचनको लेते थकाली भान्छा घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका–९ नयाँबजार बस्ने ६८ वर्षीय विनोद शेरचन समेत ८ जनालाई विहिवार राति प्रहरीले पक्राउ गरेको छ।

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ६९ हजार ६० रुपैयाँ र १४ बुक तास सहित पक्राउ गरेको हो।

कास्कीकै ड्यामसाईड बस्ने ४६ वर्षीय प्रताप गुरुङको फाइनल स्कोर स्पोर्ट्स बारमा जुवातास खेलिरहेको अवस्थामा प्रताप समेत ३ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४७ हजार ३ सय ५० रुपैयाँ र २ सय २४ पत्ति तास सहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।