काठमाडौं, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले समाजमा अहिले पत्रकार को हो ? भन्ने प्रश्न उठेको बताएका छन्।
बुधवार प्रेस काउन्सिल नेपालले आयोजना गरेको आमसञ्चार माध्यममा दलितका सरोकार विषय कार्यक्रममा बोल्दै उहाँले फेसबुक, व्यक्तिगत युट्युब च्यानल चलाउनेहरूले पनि आफूलाई पत्रकार भन्ने गरेको बताए।
बस्नेतले क्यामेरा बोकेर हिँड्दैमा पत्रकार नभइने बताए। पत्रकारले आफ्नो भूमिकाबाट पत्रकारको परिचय दिनुपर्ने उनले बताए। उनले पत्रकारले नमुनाको पत्रकारिता गरेको खण्डमा अरूले पनि त्यो सिक्ने जिकिर गरे। पत्रकारिता पेशा आफैंमा दुःखदायी रहेको बताउँदै दुःखभित्र सुख खोज्नुपर्ने अवस्था रहेको पनि बस्नेतले बताए।
उनले भने, “अहिले को पत्रकार भन्ने एउटा समस्या छ, समाजमा प्रश्न उठेको छ। त्यसको हल गर्नको लागि कम्तीमा हामीले पत्रकार चाहिँ यस्तो हुन्छ है भनेर पत्रकारले आफ्नो भूमिकाबाट, यहाँ फेसबुक चलाउने पनि पत्रकार, व्यक्तिगत युट्युब चलाउने पनि पत्रकार, एउटा क्यामेरा बोक्दैमा पत्रकार हुने कि, मैले वर्षौंदेखिका अनुहार देखिरहेको छु जसलाई पत्रकारिताको विषयमा अनुभव छ, अध्ययन तथा अनुसन्धान गर्नुभएको छ।”
उनले पत्रकारिताको अवस्था चिन्ताजनक रहेको बताउँदै सोचे जस्तो पत्रकारिता हुन नसकेको जिकिर गरे।