काठमाडौं, वाणिज्य तथा आपूर्ति उपभोक्ता संरक्षण विभागले काठमाडौंस्थित शान्ति नगरको जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ। अंकित मूल्य भन्दा दोब्बर मूल्यमा मिनिरल वाटर बेचेको भन्दै विभागले जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिवाना गरेको हो।
जिम्बु थकालीले उपभोक्ताहरुलाई ३५ रुपैयाँ मूल्य पर्ने मिनिरल वाटरलाई १ सय रुपैयाँसम्म लिएको गुनासो आएसँगै विभागका महानिर्देशक राजन पौडेल सहितको टोलीले छड्के अनुगमन गरी रेष्टुरेण्टमा अनुगमन गरेको हो। महानिर्देशक पौडेलले जिम्बु थकालीले आफूलाई समेत ठगेको बताए।
उनले रेष्टुरेण्टले पानीमा अंकित गरेको मूल्य भन्दा दोब्बर मूल्य लिएर उपभोक्ता ठगी गरेको आधारमा उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम हदैसम्मको कारबाही स्वरुप ३ लाख रुपैयाँ जरिवानासहित सचेत गराएको बताए। उनले रेष्टुरेण्टले अब पनि अंकित मूल्य भन्दा बढीमा पानी लगायतका कुनैपनि वस्तु बेचेको पाइएमा रेष्टुरेण्ट शिलबन्दी गर्ने बताए।
उनले चाडपर्व लक्षित विभागको ७ वटा टोली बजार अनुगमनमा रहेको बताए । उनले आवश्यकताका आधारमा उपभोक्ताहरु ठगीबाट जोगाउनको लागि विभागले बजार अनुगमनलाई तीव्रता दिएको बताए। काठमाडौं उपत्यकासहित मुलुकभर स्थानीय तहमार्फत बजार अनुगमनलाई तीव्र पारिएको पनि बताए।