काठमाडौं, नेपालीको दोस्रो ठूलो चाड तिहार सकिएसँगै राजधानीलगायत तराईका जिल्लामा छठको तयारी सुरु भएको छ।
पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरमुनिको वाग्मती किनारमा आकर्षक रूपमा छठघाट निर्माणको काम थालिएको छ। गुह्येश्वरीबाट गौरीघाटसम्म आकर्षक रूपमा सजाएर छठघाट अर्थात् पूजा स्थल निर्माण भइरहेको छ। यस क्षेत्रमा ६७५ वटा पूजास्थल निर्माण सुरु गरिएको गुह्येश्वरी गौरीघाट छठ पूजा समितिले जनाएको छ।
तयारीका लागि यस क्षेत्रमा सफाइ, माटो सम्याउनेलगायत काम पनि भइरहेको छ । समितिले एउटा छठघाट पूजाका लागि एक हजार एक सय शुल्क लिने गरेको छ। छठका लागि आवश्यक तयारीको खर्च जुटाउन शुल्क लिने गरिएको हो।
विगत वर्षमा पशुपति क्षेत्र विकास कोषले पनि गुह्येश्वरी गौरीघाट छठ पूजा समितिलाई ६ लाख सहयोग गर्ने गरेको थियो। यस वर्ष पनि सहयोग गर्ने वाचा गरेको समितिले जनाएको छ।
यसैगरी कमलपोखरी, नागपोखरीलगायत स्थानमा पनि छठ मनाउन छठघाट निर्माण भइरहेको छ। अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइन्छ। छठको विधि भने कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात् कार्तिक कृष्ण प्रतिपदादेखि नै सुरु हुने बताइन्छ।
छठ व्रत बसेर छठघाटभित्र प्रवेश गरेर सूर्यलाई पूजा आराधनासहित अर्घ्य दिनेले कार्तिक कृष्ण प्रतिपदादेखि नै लसुन, प्याजलगायत तामसी खाद्य परिकार नखाई शुद्ध बस्ने व्रत विधि छ।