कुवेतबाट फर्किएका युवकले गरे गोली हानी श्रीमतीको हत्या

HTV Khabar १० अशोज २०८१, बिहीबार ०९:१६ मा प्रकाशित

काठमाडौं,  सर्लाहीमा एक युवकले गोली प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। गएराति पौने २ बजे हरिपूर्वा नगरपालिका ( ५ का २७ वर्षीय धिरेन्द्र यादवले आफ्नी २३ वर्षीया पत्नी चित्रलेखा यादवको गोली हानेर हत्या गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गोली लागेर युवकको बुवा पनि घाइते भएका छन्। साथीसँगै गएराति पौने २ बजेतिर मोटरसाइकल चढेर आएका यादवले श्रीमती चित्रलेखालाई गोली हानेको बताइएको छ। सँगै आएका साथीले मोटरसाइकल रोकेर बाटोमा बसेका र धीरेन्द्रले घरभित्र प्रवेश गरी श्रीमती चित्रलेखालाई गोली प्रहार गरेको प्रहरीले जनाएको छ।

टाउकोमा दुई राउन्ड गोली प्रहार भएको चित्रलेखाको घटनास्थलमै मृत्यु भएको छ भने गोली लागेर घाइते भएका रामदिनेश रायको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ। गोली प्रहार गर्ने धीरेन्द्र साथीसँगै मोटरसाइकल चढेर फरार भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। धीरेन्द्र र उनीसँगै मोटरसाइकलमा आएका व्यक्तिको खोजी भइरहेको बताइएको छ।

श्रीमती र बुवालाई गोली प्रहार गर्ने धीरेन्द्र एक महिनाअघि कुवेतबाट घर फर्किएको बुझिएको छ। तर उनी केही दिन घरमा बसेर घरायसी विवाद भएपछि भाततिर लागेका थिए। बुधवार भने साथिसँगै घर पुग्नासाथ धीरेन्द्रले श्रीमतीलाई गोली हानेको बुझिएको छ। प्रहरी टोली अहिले घटनास्थलमै छ।

मृतक चित्रलेखाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ। घटनाको कारण भने खुल्न सकेको छैन । प्रहरीले थप अनुसन्धान गरिरहेको छ।