सेवानिवृत्त प्रहरीका दुई एआईजी र एक डीआईजीको विदाइ

HTV Khabar २८ कार्तिक २०८१, बुधवार ०६:२९ मा प्रकाशित

काठमाडौं,  प्रहरी प्रधान कार्यालयले सेवानिवृत्त तीन प्रहरी अधिकारीको विदाइ गरेको छ।


प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले सेवानिवृत्त भएका एआईजीद्वय रामदत्त जोशी र किरण राणासँगै डीआईजी राजेशनाथ बास्तोलालाई मंगलबार विदाइ गरेका हुन्।

विदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले संगठनले सुम्पिएका हरेक जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरी सेवानिवृत्त भएको भन्दै उनीहरूको प्रशंसा गरे।


संगठनले सुम्पिएका हरेक पदीय दायित्व सफलतापूर्वक निर्वाह गरी हासिल गरेको अनुभव तथा विज्ञता संगठनको हितका लागि सदैव आवश्यक हुने भएकोले आगामी दिनमा समेत सेवानिवृत्त अधिकृतहरूको उपलब्धिमूलक सत्प्रयासको अपेक्षा रहेको आईजीपी कुँवरको भनाइ छ।

सेवानिवृत्त भएका जोशी, राणा र बास्तोलाले आफ्नो सेवा अवधिमा गरेका विभिन्न काम स्मरण गर्दै सेवा अवधिभर संगठनले सुम्पिएको जिम्मेवारीमा केन्द्रित भई काम गरेको उल्लेख गरे। उनीहरूले आगामी दिनमा पनि संगठनलाई रचनात्मक सहयोग गर्न आफूहरू तयार रहेको बताए।

२०५१ चैत ५ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेका जोशी यही कात्तिक १७ गते, राणा कात्तिक १५ गते र २०५२ कात्तिक २७ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेका बास्तोला कात्तिक १० गते सेवानिवृत्त भएका थिए।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो।