काठमाडौं, प्रहरीले कैलाली र बाँकेबाट जुवातास खेल्ने २७ जनालाई पक्राउ गरेको छ। प्रहरी टोलीले उनीहरूलाई जुवातास खेलिरहेकै अवस्थामा पक्राउ गरेको हो।
धनगढी उपमहानगरपालिका-१ पशुपती टोलस्थित कमल मल्लको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-१ बस्ने ४१ वर्षीय कमलराज अधिकारीसमेत १२ जनालाई गएराति पक्राउ गरिएको बताइएको छ।
वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २७ हजार ६५ रूपैयाँ र एक गड्डी ताससहित पक्राउ गरेको प्रहरीले जनाएको छ।
त्यस्तै नेपालगञ्ज उपमहानगरपालिका-१६ स्थित खेतमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने १५ जनालाई शनिवार बिहान प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय नेपालगञ्ज र इलाका प्रहरी कार्यालय जमुनाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २९ हजार ३ सय ६१ रूपैयाँ, लङगुर बुर्जा खेलाउने गोट्टी १ सेट र ८ गड्डी तास सहित पक्राउ गरेको हो।
उनीहरूले प्रयोग गरेको ४ थान मोटरसाइकल, १ थान स्कुटर र १२ थान मोबाइल प्रहरीले बरामद गरेको छ। उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।