काठमाडौं, धनगढीमा एक जना शिक्षकको घर फुटाएर सुन र चाँदीका गरगहनासहित नगद चोरी गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका–४ को उत्तरबेहडीका शिक्षक योगेन्द्र ओझाको साढे २ तले घरको ढोका फुटाएर चोरी गर्ने फुलबारीका हर्क गिरीलाई पक्राउ गरिएको छ।
गिरीले कोही नभएको मौका छोपेर २३ गते बिहान ११ बजेतिर ओझाको उत्तरबेहडीस्थित घरको ढोका फुटाएर १५ तोला सुनका गरगहना, कम्तीमा ६० तोला चाँदीका गरगहना र २५ हजार रुपैयाँ नगद चोरी गरेका थिए।ओझाले घरमा चोरी भएको प्रहरीलाई खबर गरेपछि विहिवार उनको खोजी गरिएको थियो।
प्रहरीले बिहीबार राति करीब १२ बजेको समयमा एलएनचोकस्थित अमित प्लाजा नजिकैको कोठामा फेला पारेको थियो।गिरीको साथबाट चाँदीका गरगहना बरामद गरिएपनि सुनका गरगहना भने नभेटिएको प्रहरी स्रोतले जनाएको छ।
गिरीमाथि अनुसन्धान जारी छ । प्रहरीले सीसीटीभी फुटेको आधारमा गिरीको पहिचान गरेको थियो। यसअघि हसनपुरमा बस्दै आएक एक जना डाक्टरको घरमा चोरी गरेको मुद्दामा पनि गिरी पक्राउ परेका थिए। उनी कैलाली कारागारबाट कैद भुक्तान गरि हप्तादिन अघि मात्र छुटेका थिए।