४२ लाखको भेडा लिएर फरार भएको आरोपमा फकिर पक्राउ

HTV Khabar ९ अशोज २०८१, बुधवार ०६:१० मा प्रकाशित

काठमाडौं, मुस्ताङबाट १०३ वटा च्यांग्रा चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा रुपन्देहीको शुद्धोधन गाउँपालिका-४ घर भई हाल कास्कीको पोखरा महानगरपालिका-७ मासवार बस्ने ५० वर्षीय मोहम्मद फकिर रहेका छन्।

मोलमोलाइ गरेपछि १०३ वटा भेडाको पैसा नदिइकन लिएर उनी फरार रहेका थिए। असोज १ गते मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ का ताक्ला गुरुङले पालेको भेडा लिएर दुई जना सहयोगीसहित उनी पोखरा झरे।

असोज ३ गते पोखराको ड्यामसाइडमा सुतिरहेको अवस्थामा भेडाधनी ताक्लालाई पत्तो नदिइकन फकिरसहितका ३ जना भेडा लिएर फरार भए।

ताक्लाले ४२ लाख रुपैयाँ मोलमोलाइ गरेर पैसा नदिइकन व्यापारी भागेपछि जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका थिए।रुपन्देहीको शुद्धोधन गाउँपालिका–४ घर भई पोखरा बस्दै आएका फकिरलाई पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।