काठमाडौं, गोरखामा जंगलमा मारेर गाडिएको अवस्थामा भेटिएकी सुचिनाको हत्या आरोपमा प्रहरीले एक जनालाई सार्वजनिक गरेको छ।
प्रहरीले मङ्गलवार पत्रकार सम्मेलन गरी आरोपित मन सम्जेर गुरुङलाई सार्वजनिक गरेको हो। बलात्कारको प्रयास असफल भएपछि आफूले हत्या गरेको पक्राउ परेका अभियुक्त स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
४३ वर्षीय गुरुङलाई प्रहरीले नौ दिनको अनुसन्धानपछि सोमवार बिहान तीन बजे घरबाट पक्राउ गरेको थियो। मङ्सिर १५ गतेदेखि हराइरहेकी १८ वर्षीया सुचिना गुरुङको शव प्रहरी र बारपाकका स्थानीयवासीको संयुक्त खोजी टोलीले १८ गते मैखर्क जंगलमा गाडिएको अवस्थामा फेला पारेको थियो।
प्रहरीले सोमवार बिहान स्थानीय एक विद्यालयका शिक्षक मन सम्जेर गुरुङलाई नियन्त्रणमा लिई सोधपुछ गरेको थियो। घटना स्थलमा भेटिएका कम्ब्याट टोपी, उनीको टोपी, डोको, नाम्लोका आधारमा सोधपुछ गर्दा उनले आफैले हत्या गरेको स्वीकार समेत गरिसकेको गोरखा प्रहरीले जनाएको छ।
प्रहरीले उनीबिरुद्ध कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।