काठमाडौं, नेपाल विद्यालय रग्वी आयोग केन्द्रीय कार्यसमितिको दोस्रो राष्ट्रिय महाधिवेशन पौष ६ गते शुक्रवार हुने भएको छ।
बूढानीलकण्ठ नगरपालिका वडा नं. १० मिलनचोकस्थित जोसेफ माध्यमिक विद्यालयको सभाकक्षमा पौष ६ गते शुक्रवार अपरान्ह ४ बजेदेखि दोस्रो महाधिवेशनको कार्यक्रम शुरु हुने केन्द्रीय सचिव शिव अर्यालले जानकारी दिएका छन्। अर्यालले खेलप्रेमी र सम्बन्धित सरोकारवालाले महाधिवेशन कार्यक्रममा सहभागी अनुरोध गरेका छन्।
आयोगको पहिलो महाधिवेशनले जे.बि. दीपक अधिकारीको अध्यक्षतामा १३ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित गरेको थियो। उक्त कार्यसमितिले सातवटै प्रदेशमा प्रदेश स्तरीय विद्यालय रग्वी आयोग गठन गरि खेलकुदलाई अगाडि बढाई सकेको छ।
प्रदेशअन्तर्गत विभिन्न जिल्लाभित्र रहेका विद्यालयमा रग्वी खेलको आवश्यक सामाग्री उपलब्ध गराउन साथै विद्यार्थीहरुलाई प्रशिक्षणको व्यवस्था मिलाउने कार्यकको लागि आयोगले खेलकुद परिषद् तथा रग्वी संघमा पत्राचार गरिसकेको विद्यालय रग्वी आयोगका केन्द्रीय अध्यक्ष अधिकारीले एचटिभी खबरलाई बताएका छन्।
रग्वी खेल नेपालमा अत्यन्तै पुरानो भएता पनि आवश्यक प्रचारप्रसार र सम्बर्द्धनको कमिले गर्दा पछि परेको अधिकारीले गुनासो पोखे। रग्वी खेल देशभित्र मात्रै नभएर अन्तर्राष्ट्रिय स्तरमा झनै लोकप्रिय रहेको बताउँदै विद्यालय स्तरमानै खेलाडी तयार पार्ने उदेश्य राखेर नेपाल विद्यालय रग्वी आयोगको स्थापना गरिएको अध्यक्ष अधिकारीले प्रष्ट पारे।