औषधि व्यवस्था विभागद्वारा ९ प्रकारका औषधि उत्पादनमा रोक

HTV Khabar २९ मंगशिर २०८०, शुक्रबार ०८:३३ मा प्रकाशित
काठमाडौं, औषधि व्यवस्था विभागले मधुमेह, दुखाइ कम गर्नेलगायत ९ प्रकारका औषधि उत्पादनमा रोक लगाएको छ। औषधि व्यवस्था विभागले दर्ता भएकै नेपाली औषधि उत्पादनमा रोक लगाएको हो।

औषधि मूल्यांकन समितिबाट प्राप्त सुझावका आधारमा विभागले लिना-ग्लिप्टिन साढे २ एमजी, रिभा-रोक्स्बान ५ एमजी, एसिक्लो-फेनाक २०० एमजीलगायतको उत्पादनमा रोक लगाएको हो।

उत्पादनमा रोक लगाए पनि बजारमा पुगिसकेको औषधि भने बिक्री वितरण गर्न पाइने विभागका सूचना अधिकारी प्रमोद केसीले जनाए। विगतमा एन्टिवायोटिकका समिश्रणमा प्रतिबन्ध लगाए पनि करिब ३ दशकपछि एकल मोलिक्यूलबाट बनेका औषधि पहिलो पटक उत्पादनमा रोक लगाइएको विभागले जनाएको छ। विगतमा अध्ययनको अभावमा यी औषधि दर्ता भएको प्रवक्ता केसीको भनाइ छ।

पहिले अनुमति दिइए पनि प्राविधिक मूल्यांकनका आधारमा तत्कालका लागि उत्पादनमा रोक लगाइएको विभागको भनाइ गैरजिम्मेवारीपूर्ण रहेको जानकारहरु बताउँछन्। उत्पादन भएका औषधिको बिक्री गर्न पाइने तर उत्पादन बन्द गर्ने भन्ने विभागको भनाइ अस्पष्ट रहेको वरिष्ठ फार्मासिस्ट बाबुराम हुमागाईंको भनाइ छ।

विभागले गत वर्ष गुणस्तरमा कमी देखिएको भन्दै २५ वटा र यस वर्ष आठवटा मोलिक्युल बजारबाट फिर्ता गरिसकेको छ। गत वर्ष एक सय तीन प्रकारका एन्टिबायोटिक्सको समिश्रणमा समेत विभागले प्रतिबन्ध लगाएको छ।