२२ लाखसहित हुण्डी कारोबार गरेको आरोपमा २ जना पक्राउ

HTV Khabar १० वैशाख २०८१, सोमबार १२:४७ मा प्रकाशित

काठमाडौं, हुण्डी कारोबार गरेको आरोपमा पर्सा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा बाराको कलैया उपमहानगरपालिका–२३ का ३८ वर्षीय अर्जुन राउत कुर्मी र पर्साको बिन्दाबासिनी गाउँपालिका–३ का ४३ वर्षीय अजयकुमार साह छन्।

उनीहरुबाट स्रोत नखुलेको २२ लाख ५ हजार ७ सय रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा डीएसपी  कुमार विक्रम थापाले जानकारी दिए।वीरगञ्जको रुङटा कम्प्लेक्स मार्केटभित्र रहेको माँ जगदम्बा मनि ट्रान्सफरबाट उनीहरुलाई पक्राउ गरिएको हो।

अर्जुनले झोलाभित्र स्रोत नखुलेको रकम बोकेको भन्ने सूचनाका आधारमा जाँच गर्दा उक्त रकमसहित प्रहरीले उनलाई पक्राउ गरेको हो। अर्जुनकै सूचनाका आधारमा मनि ट्रान्सफरका अजयलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका दुबै जनाविरुद्ध बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐनको कसुर अन्तर्गत अनुसन्धान अघि बढाइएको छ।