काडमाडौं, नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का पाइलटहरू आन्दोलनमा उत्रिएपछि नियमति उडानमा रहेका हजारौं यात्रुले सास्ती पाएका छन्।
निगमका पाइलटहरू गत कात्तिक पहिलो सातादेखि सेवा सुविधा वृद्धिको माग गर्दै आन्दोलनमा उत्रिएपछि विभिन्न अन्तर्राष्ट्रिय गन्तव्य जाने यात्रुहरूले सास्ती पाएका हुन्।
यहीबीच आईतवार भारतको मुम्बई र युनाइटेड अरब इमिरेट्स (यूएई) का उडान तोकिएको समयमै हुन नसक्दा सयौं यात्रु अलपत्र परेका छन्। ती उडान सार्नुपर्दा यात्रुको थप बिजोग भएको छ।
आईतवार दिउँसो काठमाडौंबाट मुम्बई जानुपर्ने निगमको उडान तोकिएको समयमै हुन नसक्दा उता कुरेर बसेका डेढ सय हाराहारी यात्रुको बिचल्ली भएको एक यात्रु पुनम सिंहले सामाजिक सञ्जालमा आक्रोश पोखेकी छिन्।
निगमले यात्रुको सुरक्षा र सुविधामा सम्झौता गरेको भन्दै उनले आक्रोश पोखिन्।मुम्बईस्थित छत्रपति शिवाजी अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो उड्नुपर्नेमा जहाज काठमाडौंबाट नगएपछि यात्रुलाई विभिन्न होटलमा कोठा सेयर गरेर बस्न भनिएको भन्दै उनले लेखेकी छिन्।
‘पाइलटहरू आन्दोलनमा उत्रिएका कारण हाम्रो उडान निर्धारित समयमा हुन सकेका छैनन्,’ निगमका प्रवक्ता रमेश पौडेलले भने, ‘ती उडान सारेर व्यवस्थापन गरिरहेका छौं। आज आईतवार दिउँसोको मुम्बई उडान राति हुँदैछ। सोही जहाजले आज सोमवार मुम्बईमा रहेका यात्रु लिएर आउँछ।’उडान रोकिएका गन्तव्यमा निगमले यात्रुलाई होटलमा राख्ने गरेको उनले बताए।