काठमाडौं, नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदै छ। महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने छ।
केन्द्रीय महाधिवेशनमा सहभागी हुन देशभरबाट पत्रकारहरु काठमाडौंमा आइसकेका छन्। केन्द्रीय महाधिवेशनमा राष्ट्रिय परिषद सदस्यहरु सहभागी हुन्छन्।
केन्द्रीय महाधिवेशनमा महासचिव रोशन पुरीको सांगठनिक र कोषाध्यक्ष कलेन्द्र सेजुवालको आर्थिक प्रस्ताव पेस गरी छलफलपछि पारित गर्ने कार्यसूची छ।यसअघि गत चैत ७ गते बसेको नेपाल पत्रकार महासंघको केन्द्रीय समितिको बैठकले वैशाख २१ गते लुम्बिनीमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको थियो, तर पछि काठमाडौंमा सारिएको थियो।
केन्द्रीय महाधिवेशनको एक महिनापछि महासंघले नयाँ नेतृत्व चयन गर्ने विधानमा व्यवस्था छ। त्यसका लागि महासंघको निर्वाचन आगामी जेठ १९ गते गर्ने निर्णय केन्द्रीय समिति बैठकले गरिसकेको छ।
यसपटक महासंघले प्रत्यक्ष निर्वाचनको अभ्यास गर्दैछ। केन्द्र, प्रदेश र जिल्ला समितिको मतपेटिका प्रत्येक शाखामा राखेर प्रत्यक्ष निर्वाचन हुने छ ।निर्वाचन अघि महासंघको सदस्यता वैशाख मसान्तभित्र शुद्धीकरण समिति र संगठन समितिले टुंगो लगाउने छन्।