फागु खेलेपछि ललितपुरमा झडप हुँदा २ जनाको मृत्यु

HTV Khabar १२ चैत्र २०८०, सोमबार १२:४३ मा प्रकाशित

काठमाडौं, ललितपुरमा होली खेलेर खाजा खाने क्रममा झडप हुँदा दुई जना युवाको मृत्यु भएको छ।

आईतवार राति ललितपुरको धोलाहिटीमा होली खेलिसकेपछि होटेलमा मदिरा सेवन गरेको समूहबीच झडप भएको थियो। झडपमा परी पाँचथर र सुनसरी घर भई धोलाहिटी बस्ने दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर, ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार मृत्यु हुनेमा पाँचथर घर भई धोलाहिटी बस्ने २८ वर्षीय रोबस राई र सुनसरी घर भई धोलाहिटी बस्ने ३० वर्षीय पुजन राई रहेका छन्। पूजनको शव सुमेरु अस्पताल र रोबसको पाटनमा राखिएको छ।


उनीहरू दुई जनाको मृत्यु भइसकेपछि प्रहरीले खबर पाएको एसपी सुवेदीले बताए।घटनामा संलग्न भएको आरोपमा प्रहरीले हालसम्म १८ जनालाई नियन्त्रणमा लिएको छ। घटनास्थलबाट धारिलो हतियार पनि बरामद भएको प्रवक्ता सुवेदीले बताए।घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।