काठमाडौं, सुनसरीको बराहक्षेत्रमा उच्च अदालत पाटनका न्यायाधीश सवार कार दुर्घटनामा परेको छ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार मदन भण्डारी राजमार्गअन्तर्गत बराहक्षेत्र नगरपालिका–३ नडाह जंगलमा मंगलवार साँझ सवा ५ बजेतिर उच्च अदालत पाटनका न्यायाधीश नारायणप्रसाद रेग्मी सवार कार दुर्घटनामा परेको हो।
दुर्घटनामा विराटनगर महानगरपालिका–४ घर भएका न्यायाधीश ५४ वर्षीय रेग्मी र इलामको देउमाई नगरपालिका–४ का ६१ वर्षीय कृष्ण खनाल घाइते भएको प्रहरीले जनाएको छ।
काठमाडौंबाट विराटनगरतर्फ आउँदै गरेको बी एबी ७१४६ नम्बरको कार दुर्घटनामा परेको बताइएको छ । दुर्घटनामा परेर घाइते भएका दुवै जनाको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार रेग्मीको अवस्था मध्यम र खनालको गम्भीर रहेको छ। न्यायाधीश रेग्मी, उनका भिनाजु, छोरा र छोरी तथा चालकसहित ५ जना सवार रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
अन्य तीनजना सकुशल रहेका छन् भने चालक भक्तपुर नगरपालिका–५ घर भएका ५४ वर्षीय कृष्णमान खोटेजालाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ।