काठमाडौं, तनहुँमा दुई वटा बन्दुकसहित सात जना पक्राउ परेका छन्। जिल्लाको शुक्लागण्डकी नगरपालिका ११ भुस्नापुरमा इलाका प्रहरी कार्यालय प्रमुख इन्स्पेन्टर गणेश सुवेदी नेतृत्वको टोलीले उनीहरुलाई दुई वटा अवैध बन्दुसहित पक्राउ गरेको हो।
शंकास्पद वस्तुसहित सरिप चन्द समातिएका थिए। उनलाई सोधपुछ गरेर पछ्याउँदा दुईनाले बन्दुकसहित ५ जना र एकनाले बन्दुकसहित २ जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
दुईनाले बन्दुकसहित पक्राउ पर्नेमा लक्ष्मण शाही, केबलबहादुर चन्द, युवराज ढुंगाना, दुर्गा वीरजंग ठकुरी र सरिप चन्द छन्। एकनाले बन्दुकसहित पक्राउ पर्नेमा कुलबहादुर र यमबहादुर शाही छन्। उनीहरुको साथमा बन्दुकमा प्रयोग गरिने बारुद, बेरिङ, सीसालगायतका पदार्थ पनि फेला परेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान थालेको छ।