काठमाडौं, गोकर्णेश्वरको यज्ञडोल क्षेत्रबाट बगेर आउने यज्ञमती र चखुँचा खोलाको आरम्भ चोकमाथिको बहाव क्षेत्र छुट्याउने काम काठमाडौं उपत्यका विकास प्राधिकरणले गर्ने भएको छ।
चावहिल, कपन क्षेत्रको रुद्रमती (धोबीखोला) बाट आरम्भचोकसम्म खोला उत्खनन काठमाडौं महानगरपालिकाले गरेको थियो । खोला छुट्याउने कामसँगै आरम्भचोकसम्म जग्गाको नापजाँच गरिएको छ।
त्यसमाथिका भागमा खोलेर आरसिसी ढलान गर्ने काम प्राधिकरणले अघि बढाएको छ। यसका लागि प्राधिकरणले रु २३ करोडको ठेक्का गरेको हो। ड्रागन आरबि कम्पनीले ठेक्का पाएर काम अघि बढाउन लागेको महानगरपालिका वडा नं. ६ का अध्यक्ष भुवन लामाले जानकारी दिए।
काठमाडौं उपत्यकामा बस्ती बढेसँगै विसं २०६० पछि यस क्षेत्रका दुवै नदी पुरेर सडक बनाई घर बनाउन थालिएको थियो। यसरी खोलालाई ढल बनाउँदा वर्षायाममा कपन र चाहिलको सरस्वतीनगर क्षेत्र डुबानमा पर्न थालेपछि महानगरपालिकाले खोला खोल्न थालेको हो।