वृद्धालाई कुटपिट गरी लुटपाट गरेको आरोपमा चारजना पक्राउ

HTV Khabar २९ पौष २०८१, सोमबार ०७:३८ मा प्रकाशित

काठमाडौं,  ललितपुरको धापाखेलमा ९० वर्षीया वृद्धालाई कुटपिट गरी लुटपाट गरेको आरोपमा चारजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्चीका अम्बरबहादुर तामाङ, सन्च तामाङ, जीतमाया घलान र सिन्धुपाल्चोक पाँचपोखरीका भीमबहादुर विक छन्। गएको पुस २२ गते दिउँसो साढे १२ बजे धापाखेलस्थित सम्झना बुढामगरको घरमा प्रवेश गरी उनीहरूले कुटपिट गरी नगद तथा गरगहना लगेको आरोप छ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार उनीहरूले बुढामगरले कानमा लगाएको सुनको बेरुवा रिङ, सुनको औँठी र सुनको सिक्री डाँकागरी लगेका थिए। उनीहरुको साथबाट डकैती गरेर लगेको सुनका गरगहना र २५ हजार रुपैयाँसमेत बरामद भएको छ । प्रहरीले उनीहरुमाथि थप अनुसन्धान थालेको छ।