काठमाडौं, सुन तस्करीमा संलग्नको मुख्य आरोपी मानिएका दावा छिरिङ लामाको नागरिकता जारी गर्दा सनाखत गर्ने दुईजना सरकारी कर्मचारीलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ।
उनीहरुसँगै काठमाडौं महानगरपालिका ४ का ४० वर्षीय राजु गुरुङलाई थुनामा पठाउने जिल्ला अदालत काभ्रेले आदेश दिएको हो। गुरुङलाई काभ्रे प्रहरीले झुटा विवरण पेस गरी नागरिकता र राहदानी लिएको आरोपमा यसअघि नै पक्राउ गरेको थियो।
गत साउन १४ गते सुन तस्कर मुद्दामा पक्राउ परेका तिब्बती मूलका बेल्जियम नागरिक दावा छिरिङ अहिले केन्द्रीय कारागारमा छन्। दावासहित अन्य तीन जनालाई नागरिकता जारी गर्दाको बखत हस्ताक्षर गर्ने अधिकृत झपेन्द्रराज खरेललाई काभ्रेबाटै पक्राउ गरिएकामा शुक्रवारको थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा पठाइएको हो।
जिल्ला न्यायाधीश शिवकुमार पोखरेलको इजलासले आईतवार अधिकृत झपेन्द्रराज खरेल र नासु रामचन्द्र अर्यालसँगै राजु गुरुङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। दावासहित अन्य पाँच जनाले समेत जिल्ला प्रशासन कार्यालय काभ्रेबाट नागरिकता लिएको पुष्टि भएपछि दावाको नागरिकता खारेजीका लागि काभ्रे प्रशासनले गृह मन्त्रालयलाई यसअगावै सिफारिस गरिसकेको छ।
दावासँगै काभ्रेबाट २०७४ पुस २० गते तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ र चिनियाँ दावाजिन वाङले वंशजका आधारमा नागरिकता लिएका थिए। नागरिकता जारी गर्दाका बखत हस्ताक्षर गर्ने तत्कालीन अधिकृत झपेन्द्र र रामचन्द्रलाई थुनामा पठाइएको जिल्ला अदालत काभ्रेका सूचना अधिकारी हीराकुमारी भण्डारीले जानकारी दिइन्।
भण्डारीका अनुसार नागरिकता प्रकरणमै संलग्न थप एक जनालाई पक्राउ पुर्जीसमेत जारी भएको छ। उपसचिव कृष्णबहादुर कटुवाल संयोजकत्वको गृह मन्त्रालयको छानबिन समितिले दुई चिनियाँलाई नेपाली नागरिकता दिलाएको पुष्टि गर्दै तत्कालीन अधिकृत खरेल र नासु अर्याललाई कारबाही सिफारिससमेत गरेको थियो।