- गृहपृष्ठ
- काठमाडौं महानगरले गर्यो ७१ प्रधानाध्यापक र ११ स्रोत शिक्षकका लागि दरखास्त आह्वान
काठमाडौं महानगरले गर्यो ७१ प्रधानाध्यापक र ११ स्रोत शिक्षकका लागि दरखास्त आह्वान
सबिन पन्त 'पृथक'
१७ कार्तिक २०८०, शुक्रबार १०:२५ मा प्रकाशित
काठमाडौं, काठमाडौं महानगरपालिकाले प्रधानाध्यापक र स्रोत शिक्षक पदका लागि दरखास्त आह्वान गरेको छ। महानगरले विभिन्न तह गरी ७१ जना प्रधानाध्यापक र ११ स्रोत शिक्षक नियुक्तिका लागि दरखास्त आह्वान गरेको हो।
महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाका अनुसार पाँच वर्षका लागि करारमा प्रधानाध्यापक छनोट गर्नुपर्ने भएकाले दरबन्दी मिलान तथा प्रधानाध्यापक नियुक्तिसम्बन्धी कार्यविधि, २०८० बमोजिम दरखास्त आह्वान गरिएको हो।
महानगरले आधारभूत तह (१–५) का लागि ६ जना, आधारभूत तह (१–८) का लागि २२ जना र माध्यमिक तहका लागि ४३ जना प्रधानाध्यापकका लागि दरखास्त आह्वान गरेको छ। विद्यालय समायोजन वा थपघट भएमा संख्या थपघट हुनसक्ने उल्लेख गरेको छ।
मंसिर १ गतेसम्म इच्छुक उम्मेद्वारले दरखास्त दिन सक्नेछन्। दरखास्त दिनका लागि सम्बन्धित तहमा कम्तीमा ५ वर्ष स्थायी सेवा अवधि भएको हुनुपर्नेछ।
माध्यामिक तहका लागि दुई हजार, आधारभूत (१–८) तहको लागि एक हजार ५०० र आधारभूत तह (१–५) का लागि एक हजार परीक्षा शुल्क र महानगरपालिकामा राजश्व बुझाएको भौचर संलग्न हुनुपर्ने जनाएको छ।
महानगरले विद्यालय विकास प्रस्ताव तयारी र प्रस्तुतीकरणको आधारमा प्रधानाध्यापक छनोट गर्ने जनाएको छ।
महानगरपालिकाले स्रोत शिक्षकका लागि दरखास्त आह्वान गरेको छ। महानगरपालिकाले
महानगरपालिकाको शैक्षिक नीति, योजना र कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गरी विद्यार्थीको सिकाई उपलब्धि अभिवृद्धि र गुणस्तर सुधारका लागि विद्यालयलाई प्राविधि सहयोग गर्न स्रोत शिक्षकको आवश्यकता भएको भन्दै ११ जना स्रोत शिक्षकको लागि दरखास्त आह्वान गरेको हो।
महानगरपालिकाले अंग्रेजी विषयका लागि २ जना, नेपाली विषयका लागि २ जना, गणित विषयका लागि ३ जना, सामाजिक विषयका लागि २ जना र विज्ञान विषयका लागि २ जना स्रोत शिक्षकको लागि दरखास्त आह्वान गरेको छ।
स्रोत शिक्षकका लागि १ मंसिरसम्म इच्छुक उम्मेदवारले दरखास्त दिन सक्नेछन्। स्रोत शिक्षकका लागि लिखित, प्रयोगात्मक र अन्तर्वार्ता हुनेछ भने परीक्षा शुल्क २ हजार लाग्नेछ। १८ मंसिरमा परीक्षा सञ्चालन गर्ने महानगरले जनाएको छ।
