काठमाडौं, मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा ट्राफिक प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। आईतवार काठमाडौं नेपालटारबाट मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको ट्राफिक प्रहरीले जनाएको छ।
नुवाकोटको तादी गाउँपालिका ३ खरानीटार घर भइ हाल काठमाडौं प्यूटार बस्ने २२ वर्षीय रोशन भण्डारी र धादिङको गंगाजमुना गाउँपालिका ५ फुलखर्क घर भइ हाल काठमाडौं नेपालटार बस्दै आएका ३० वर्षीय रविन अधिकारीलाई नियन्त्रणमा लिएको ट्राफिक प्रहरीले बताएको छ।
वास्तविक नम्बर बागमती प्रदेश ०२–०५४ प १४ ३५ रहेको मोटरसाइकलको नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२–०५३ प १७ ३५ राखी काठमाडौं नेपालटारमा सडक किनारमा रोकी राखेको अवस्थामा भण्डारीलाई नियन्त्रणमा लिएको हो।
अनुसन्धानको क्रममा उक्त मोटरसाइकल अधिकारीबाट रोशनले लिएको भन्ने खुल्न आएपछि उनलाई समेत नियन्त्रणमा लिएको ट्राफिक प्रहरीले जनाएको छ।
उक्त मोटरसाइकल बागलुङको वरेङ गाउँपालिका २ घर भएका आदर्श पौडेलले काठमाडौँको म्हेपीबाट हराएको भनि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएका थिए।
नियन्त्रणमा आएका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त लैनचौर पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले जानकारी दिए।