जुत्तामा लुकाएर ल्याएको २ किलो सुनसहित कर्मा पक्राउ

HTV Khabar ७ मंगशिर २०८१, शुक्रबार ०३:१० मा प्रकाशित

काठमाडौं,  दुई किलो सुनसहित रसुवाको कालिकाबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

रसुवाको कालिका गाउँपालिका–१ ग्राङबाट दुई किलो सुनसहित गोसाइँकुण्ड गाउँपालिका–३ ब्रिद्धिम बस्ने कर्मा सोनाम लामालाई पक्राउ गरिएको हो।

कालिकातर्फ जाँदै गरेको बागमती प्रदेश ०२-०४३ प २४३४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक लामाले जुत्ताको सोलमा लुकाएको अवस्थामा सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।

यसबारे आवश्यक अनुसन्धान र जाँचका लागि राजश्व अनुसन्धान विभागमा पठाइएको रसुवा प्रहरीले जनाएको छ।