काठमाडौं, पदबाट राजीनामा दिएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी नायव महानिरीक्षक (डीआईजी) अर्जुन चन्दले राजीनामा पत्र फिर्ता लिएका छन्। डीआईजी चन्दले प्रहरी प्रधान कार्यालयसँगको परामर्शमा राजीनामा फिर्ता लिएका हुन्।
डीआईजी चन्दले माघ १९ गते पदबाट राजीनामा दिएका थिए। उनले आफूले प्रहरी हेडक्वार्टरमा बुझाएको राजीनामा पत्र फिर्ता लिएर गएका हुन्। उनलाई केही दिन बिदामा बस्न प्रहरी प्रधान कार्यालयले सुझाएको स्रोतले बतायो।
प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवर, मानवस्रोत विभागका प्रमुख एआईजी टेकप्रसाद राईलगायतले उनीसँग छलफल गरेर राजीनामा नदिन सुझाएको स्रोतले बतायो। डीआईजी चन्द कुँवरकै ब्याचमेट हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयका अधिकृतमाथि प्रहरीबाट भएको हातपात घटनामा आफ्नै मातहतका कर्मचारीहरुलाई बचाउन नसकेपछि डीआईजी चन्दले राजीनामा दिएका थिए।
विमानस्थलमा अध्यागमन कर्मचारी र प्रहरीबीच कुटपिट भएको घटनामा छानबिन गर्न गठित समितिले डीएसपी, असई र जवानलाई कारबाहीको सिफारसप्रति उनी रुष्ट थिए। तर, तीन दिन बित्न नपाउँदै डीआईजी चन्दले राजीनामा फिर्ता लिएका हुन् ।